पछिल्ला दिनहरुमा कतिपय युवाहरुले बिदेश जानु भन्दा गाउँमै बसेर स्थानीय स्रोत साधनहरुको प्रयोग गर्दै गाउँमै राम्रो रोजगारी गर्न सफल भएका छन् ।
गाउँमा ईलम गरेका युवाहरुको समस्या र त्यसको प्रचार प्रसार गर्नको लागि भने अहिलेसम्म सदरमुकाममा बस्नेहरुले केही गर्न सकेका छैनन् ।
साना व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएका र गाउँमा अन्य युवाहरुलाई समेत रोजगारी दिन सफल भएका यस्ता व्यक्तिहरुलाई उद्योग बाणिज्य संघले प्रचारमुखि कार्यक्रममा सहभागि गराई अन्य गाउँहरुमा पनि त्यसको सिको गराउनुपर्ने हो तर अहिलेसम्म दैलेख उद्योग बाणिज्य संघले त्यस्तो गरेको देखिदैन् ।
गाउँमा साना व्यवसाय गरेकाहरुको स्तर उन्नतीका साथै उनिहरुले उत्पादन गरेको बस्तुहरुलाई बजारको खोजी र प्रचार प्रसार गर्ने काम उद्योग बाणिज्य संघको हुनुपर्ने हो ।
यस्ता कुराहरुमा उद्योग बाणिज्य संघले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
लाँकुरीका बसन्तदेव गिरीले गरेको मौरीपालन व्यवसायको मात्र अन्य गाउँहरुमा प्रचार गर्न सके उनको सिपको बारेमा अन्यत्रका गाउँहरुमा मात्र जानकारी गराउन सके अन्य युवाहरुले पनि घरमै बसेर राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । यस्ता थुप्रै संभावनाहरु दैलेखमा रहेका छन् यस्ता कुराहरुको खोजी गर्ने र गाउँका साना व्यवसायलाई प्राथमिकता दिनका लागि घरेलु तथा साना उद्योग लगायत विभिन्न गैर सरकारी संघ संस्थाहरुले पनि नयाँ कार्यक्रमको आयोजना गर्नुपर्ने देखिन्छ ।








